जापानमा एक सेकेन्डको महत्व र हामी नेपाली


३ चैत्र २०७९, शुक्रबार १३:१८ मा प्रकाशित

संचिता लुइँटेल

भौगोलिक रूपमा सानो तर प्राकृतिक सुन्दरताले भरिपूर्ण हाम्रो देश नेपाल विकासको हिसाबमा भने बामे सर्दै गरेको मुलुक हो।

स्वास्थ, शिक्षा, रोजगारी, खानेपानी, यातायात लगायतको हिसाबमा अझै पनि विकसित राष्ट्रको तुलनामा पछि परेको छ । उच्च शिक्षा हासिल गरेर नेपाल मै केही गर्छु भन्नेहरुलाई पनि अवसर पाउन निकै मुस्किल भएको छ।

अझै व्यवहारिक र उच्च शिक्षा हासिलका लागि विदेश पढ्न जानेहरूको बाध्यता पनि उस्तै छ । यसै बीचमा म पनि एक व्यवहारिक शिक्षा हासिल गर्न चाहने विद्यार्थी हुँ ।

स्नातक तह सम्मको शिक्षा मैले नेपाल मै हासिल गरे । त्यसपछिको उच्च शिक्षा हासिल गर्न नेपाल मै चाहन्थेँ तर उच्च शिक्षा हासिलका लागि नेपालको वर्तमान अस्थिर राजनीति र राजनीतिबाट ग्रसित शिक्षा प्रणालीका कारण नेपाली विद्यार्थीहरु आफ्नो देश छोड्न वाध्य छन् र म पनि यसै सिलसिलामा जापान आइपुगे ।

मैले नेपालमा हुँदा जुन किसिमको कल्पना गरेको थिएँ, साच्चै नै जापान त्यस्तै छ ? मेरो मनमा अझै पनि प्रश्न छ । मैले कल्पना गरेको जापान वास्तविकतामा निकै फरक पाएँ ।

यहाँको शिक्षा, रोजगार, स्वस्थ्य सेवा लगायतमा हामी नेपालीहरु कति पछि परेका रहेछौं भन्ने अनुभूति गरें । जापानको संस्कृति, भेषभुषा, रहनसहन देखेर आश्चर्य चकित भएँ ।

जापानी नागरिकहरुले गर्ने सम्मान र अनुशासन देखेर मैले मेरो देश नेपाललाई सम्झिए। नेपाली नागरिक कहिले अनुशासित र शिक्षित हुने होला भनेर आफैंलाई प्रश्न गरे ।

डाक्टर, पाइलट, बैंक मेनेजर लगायत अन्य पोष्टमा पुगेको मानिसलाई मात्र सम्मान गर्ने हाम्रो देश नेपाल र यहाँ जतिसुकै सानो काम भए पनि कामलाई गरेको सम्मान देखेर आफैं चकित भएँ ।

हामी नेपाली नागरिकहरु चिया पसलमा गएर देश विकासका कुरा गर्दछौं, नेताका कुरा काट्दै बस्छौं, फलानाले कोसँग के भन्यो, कसको कोसँग लभ पर्दैछ,  कसको छोरोले के खान्छ, फलानको छोरी कोसँग घुम्दै थिइ भन्दैमा घण्टा, दिन र महिना हुँदै वर्ष बित्छ । समयको हामी नेपालीलाई मतलब छैन ।

तर यहाँ आएपछि मैले थाह पाए कि एक सेकेण्डको पनि कति महत्त्व रहेछ भनेर । सामाजिक सञ्जाल फेसबुक टिकटकमा हामी त्यतिकै आफ्नो दिन कटाइरहेका छौं।

त्यसैमा रमाएर हामी अल्झिरहेका छौं । दिनदिनै हामी पश्चिमी शैलीतिर आकर्षित हुँदै गएका छौं । हामी हाम्रो भाषा, संस्कृति, भेषभुषा रहनसहन बिर्सिंदै गरेको पो होकी भन्ने अनुभव गरें ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here