नयाँ दिल्ली । भारतको प्रमुख प्रतिपक्षी दल भारतीय कंग्रेसका अध्यक्ष राहुल गान्धीले पार्टी अध्यक्षबाट राजीनामा दिएका छन्। उनले अब आफू कंग्रेस आईको अध्यक्ष नहुने भन्दै पार्टीलाई नयाँ अध्यक्ष चुन्न भनेका छन् ।
१७ औं लोकसभा चुनावमा पार्टीले पाँच वर्षअघिकोजस्तै नतिजा ल्याएपछि बसेको कंग्रेस (आई) को केन्द्रीय समिति बैठकमा राहुलले हारको सत प्रतिशत जिम्मा लिँदै आफू अब अध्यक्षमा बस्न नचाहेको बताएका थिए। तर त्यतिबेला केन्द्रीय समितिको एकमतले उनको प्रस्ताव अस्वीकार गरेको थियो ।
नेताहरूले राहुललाई अध्यक्ष बनिरहन आग्रह गरेका थिए । सोमबारमात्रै पाँच प्रदेशका कंग्रेस मुख्यमन्त्रीहरूले राहुललाई भेटेर राजीनामा दिने निर्णय फिर्ता लिन भनेका थिए । राहुलले सबै अनुरोधलाई बेवास्ता गर्दै बुधबार आफू अब अध्यक्ष नहुने भएकाले पार्टी केन्द्रीय समितिले छिट्टै नयाँ अध्यक्ष चुन्नु पर्ने बताएका छन् ।
‘कंग्रेस अध्यक्षको हैसियतले २०१९ को चुनावमा पार्टी हार्नुको सबै जिम्मेवारी म लिन्छु । हाम्रो पार्टीले भविष्यमा राम्रो गर्नका लागि जवाफदेहिता महत्वपूर्ण कुरा हो । त्यही कारणले मैले अध्यक्षबाट राजीनामा दिएको हुँ,’ राहुलले भनेका छन् । उनले धेरै साथीहरूले नयाँ अध्यक्ष तोकेर राजीनामा दिन सुझाव दिएको उल्लेख गर्दै आफूले त्यसो नगर्ने बताएका छन् ।
‘मलाई विश्वास छ हामीलाई उत्प्रेरणा, माया र विश्वासका साथ नेतृत्व गर्ने मान्छे छान्न पार्टीले सबैभन्दा राम्रो निर्णय गर्छ,’ उनले भनेका छन्।





