काठमाडौँ उपत्यकामा चल्ने सार्वजनिक यातायात ठप्प, सरकारसंग आज वार्ता हुँदै


२ फाल्गुन २०७९, मंगलवार ०७:४८ मा प्रकाशित

काठमाडाैँ । काठमाडौँ उपत्यकामा चल्ने सार्वजनिक यातायात आज ठप्प रहेका छन् ।

यातायात मजदूरहरुको आन्दोलनका कारण आज सार्वजनिक सवारी साधनमा हड्ताल गरिएको हो । यसका कारण कार्यालय र काममा जानुपर्ने सर्वसाधारणहरु मर्कामा परेका छन् । धेरैजसो यात्रु हिँडेर नै गन्तव्यतर्फ लागेका छन् ।

यातायात व्यवसायीले नयाँ बसपार्कभित्र आफ्ना कम्पनीको सवारीसाधन ‘पार्किङ’ गर्न लोत्से बहुउद्देश्यीय प्रालिसँग सम्झौता गरे पनि मजदुरले भने त्यसको विरोध गरेका छन् ।

विसं २०५६ मा काठमाडौँ महानगरपालिकाले ‘सार्वजनिक–निजी साझेदारी’अन्तर्गत लोत्से बहुउद्देश्यीय प्रालिसँग सम्झौता गरेर काठमाडौँ महानगरपालिका–२६ गोँगबुस्थित विष्णुमती किनारामा राष्ट्रिय बसपार्कका रूपमा सञ्चालनमा ल्याएको थियो ।

उक्त बसपार्कबाट सार्वजनिक सवारीसाधन सञ्चालन गर्नेबारे यातायात व्यवसायीहरूको छाता सङ्गठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घसँग सम्झौता गरेर बसहरू देशका विभिन्न भागमा ओहोर–दोहोर गर्दै आएका छन् ।

सार्वजनिक ठूला बस नयाँ बसपार्कबाट सञ्चालनमा आए पनि माइक्रोबस र केही बस भने अहिले नयाँ बसपार्क र गोँगबुचोकको बीचको सडकबाट सञ्चालन हुँदै आएका छन् ।

पछिल्लो समय नयाँ बसपार्क र गोँगबुचोकको बीचको सडक विस्तार हुने क्रममा रहेपछि त्यहाँबाट सञ्चालन हुँदै आएका बस र माइक्रोबस नयाँ बसपार्कबाट सञ्चालन गर्नेबारे व्यवसायीसँग छलफल भइरहेको बेलामा केही व्यवसायी तथा मजदुर सडकबाट बस सञ्चालन गर्न पाउनुपर्ने अडान राखेर आन्दोलनमा उत्रिएका जनाइएको छ ।

सरकारले आन्दोलनरत यातायात मजदुरलाई मङ्गलबार वार्ताका लागि बोलाएको छ । आन्दोलनरत यातायात मजदुरलाई मङ्गलबार बिहान ८ बजे वार्ताका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आह्वान गरिएको यातायात विभागका महानिर्देशक तुलसी गौतमले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here