भावना लिङदेन,
विर्तामोड । कतिपयका लागि ‘भाक्का’ शब्द नौलो हुन सक्छ । पूर्वको विशेषगरी झापामा प्रचलित परिकारको नाम हो, भाक्का । भाक्का भन्नेबित्तिकै धेरैलाई तराई भेगतिर बाटोछेउमा साना माटाका भाँडाबाट तातो बाफ आइरहेको खानेकुराको झल्को आउँछ । भाक्का कोच राजवंशी समुदायले चिसो मौसममा खाने प्रमुख परिकार हो । राजवंशी जातिमा मात्र सीमित रहेको भाक्का खाने चलन पछिल्लो समय सबै जातजातिबीच लोकप्रिय बन्दै गएको छ ।
बिहानै विर्तामाडको सडक छेउमा पाप्ली चौधरी भ्याइनभ्याइ भाक्का बिक्री गर्दै हुनुहुन्थ्यो । कसैले भाक्कामा अचार पनि मागिरहनुभएको थियो भने कसैले सादा । कोही घर लैजान भनेर प्याकिङ गर्न लगाउँदै हुनुहुन्थ्यो । भाक्का बेच्न आफू बच्चा अवस्थामा हुँदादेखि नैै थालेको चौधरी बताउनुहुन्छ । उहाँले सुरुमा भाक्का बेच्दाबेच्दै होटल नै सुरु गर्नुभयो । तर त्यो भन्दा पनि भाक्काबाटै राम्रो आम्दानी हुने भएपछि फेरी भाक्का बेच्न थाल्नुभयो ।
बिशेष गरि जाडोको समयमा चोक-चोकमा खान पाइने भाक्का एक सामान्य खाजा मात्र नभएर स्वास्थ्यका लागि हितकर रहेको दिलकुमार राजवंशी बताउनुहुन्छ ।
मानिसहरु भन्छन् भाक्का पाक्ने बित्तिकै ‘भकाभक’ खाने परिकार हो । तात्तातोमा यसको स्वाद स्वादिष्ट हुन्छ । भाक्कालाई धेरै जनाले खानाको रुपमा पनि खाँदै आएको राजवंशीले बताउनुभयो । हाल यस परिकारले व्यवसायिक रुप लिँदै आएको उहाँले बताउनुभयो । पहिले पहिले भाक्कासँग सब्जी खाने चलन थियो भने अहिले धनिया, टमाटर लगायतको अचारसँग खान थालिएको छ । यो परिकार राजवंशी समुदायले छोरीको विवाहमा कोसेलीका रूपमा पठाउनेसमेत गरेका छन् । भाक्कालाई अहिले मानिसहरुले भन्न सजिलो भएकाले हुनसक्छ भक्का भन्ने गरेका राजवंशी बताउनुहुन्छ ।
पछिल्लो समय कोच राजवंशी समुदायसँगै अन्य जातजातिले पनि रुचाएपछि भाक्का खाने प्रचलनलाई प्रवद्र्धन गर्न कोच राजवंशी समुदायले पुस २९ गतेलाई भाक्का दिवसका रूपमा मनाउँदै आएका छन् । विशेष गरि विहान र साँझ बनाइने हुँदा यो परिकारमा युवा पुस्ता र विद्यार्थीमा विशेष आर्कषण रहेको पाइन्छ ।
कसरी बन्छ भाक्का ?
राम्रोसँग पखालेको चामललाई एक दिन अगाडि भिजाएर राख्नुपर्छ । धेरै परिमाणमा आवश्यक भएमा भिजाएको चामललाई मिलमा पिसाउन सकिन्छ । थोरै परिमाणमा हो भने मिक्सचरको प्रयोग गरेर पिठो बनाउन पनि सकिन्छ, पिठो बनाउन ढिकीको पनि प्रयोग गरिन्छ । तयार भएको पिठोलाई पानीले भिजाएर माड्ने, अनि गोलो आकार दिई उमालेको पानी रहेको भाँडोमाथि कचौरामा राखी बफ्याउनु पर्छ । यसरी भाक्का तयार हुन्छ । नयाँ चामल र पोलिस नगरेको चामलबाट राम्रो भाक्का बन्दछ । तयार भाक्कालाई धनियाँ, गोलभेडा आदिको अचारसँग खान सकिन्छ ।