बालुवाखानीको लेदोले पृथ्वी राजमार्ग फेरि अवरुद्ध


१४ असार २०७६, शनिबार १३:४१ मा प्रकाशित

धादिङ । गल्छी गाउँपालिकाका अध्यक्ष कृष्णहरि श्रेष्ठको केबीएस कन्स्ट्रक्सन एन्ड सप्लायर्सले चलाएको बालुवाखानीको लेदोले पृथ्वी राजमार्ग फेरि अवरुद्ध बनेको छ ।

तीन दिनअघि पनि यही कारण पृथ्वी राजमार्ग प्रभावित बनेको थियो । गाउँपालिका अध्यक्षको खानीबाट निस्किने रातो माटोको मसिनो लेदोले शनिबार बिहान गल्छी–बैरेनी सडक खण्डको करिब एक किलोमिटर भूभाग ढाकेकाले यातायात प्रभावित भएको हो ।

स्थानीयका अनुसार धादिङको गल्छी गाउँपालिका–६ बैरेनीबजारबाट महेशदोभान बजारसम्म एक किलोमिटर सडकमा बालुवा र माटोको लेदो जमेको छ । सडकभन्दा माथि बालुवा निकालिएको छ । बालुवा निकालिएपछि राति परेको वर्षाका कारण लेदो सडकसम्म आएको हो ।

यसैगरी राजमार्गको माथितिर खुलेका अधिकांश ग्रामीण सडकका कारण गाउँगाउँदेखि बगेर आउने बलौटे माटो राजमार्गमा थुप्रिएर पनि पटकपटक सडक अवरुद्ध हुने गरेको छ । यसैबीच पानी परेसँगै लेदोले अबरुद्ध बनेको पृथ्वी राजमार्ग केहीबेर अघि सुचारु भएको छ ।

बिहानैदेखि राजमार्ग अवरुद्ध हुदाँ राजधानी आउँदै गरेको र बाहिर जाँदै गरेका हजारौं सवारी साधन बीच बाटोमै रोकिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here