एकीकृत समाजवादीमा मन्त्री हेरफेरको विषय पेचिलो बन्दै, पार्टी भन्दा मन्त्री ‘शक्तिशाली’


११ असार २०७९, शनिबार ०९:२२ मा प्रकाशित

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष माधवकुमार नेपाल मन्त्री हेरफेरको विषयलाई लिएर पार्टीभित्र र बाहिरका नेताहरूको घेराबन्दीमा परेका छन्।

पार्टीकै प्रभावशाली नेता र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको घेराबन्दीमा उनी परेका हुन्। नेकपा एसबाट सरकारमा सहभागी मन्त्रीहरूको नेतृत्वमा १० सांसदले संसदीय दलको बैठक माग गर्नु र माओवादी अध्यक्ष दाहालले तत्कालै मन्त्रिपरिषद् हेरफेरमा अवरोध गर्नुले अध्यक्ष नेपाल चर्को दबाबमा परेको नेताहरूले बताएका छन्।

सरकारमा गएका मन्त्रीहरूलाई फिर्ता गर्न नसक्दा अध्यक्ष नेपाल नैतिक संकटमा परेका छन्।

ओली सरकारलाई हटाउनदेखि कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार गठन गर्दै पाँच दलीय गठबन्धन निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गरेका अध्यक्ष नेपाल आफ्नै पार्टीले सरकारमा पठाएका मन्त्री र गठबन्धनको सहयात्री दल माओवादी केन्द्रका कारण नैतिक संकटमा परेका हुन्।

नेकपा एसका मन्त्रीहरूलाई फिर्ता बोलाउँदा माओवादीले आफ्ना मन्त्रीलाई पनि फिर्ता बोलाउन दबाब झेल्नुपर्ने आकलन गरेपछि एकप्रकारको अवरोध सिर्जना गरेको नेकपा एसका नेताहरूको बुझाइ छ।

सोही कारणले नेकपा एसको निर्णय कार्यान्वयन अवरुद्ध बन्न पुगेको विश्लेषण गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here