अन्तर्राष्ट्रिय सृजनात्मक अनुष्ठान अमेरिकामा आयोजना हुँदै, १० भन्दा बढी देशबाट साहित्यकारहरूको सहभागिता रहने


१६ जेष्ठ २०७९, सोमबार १६:४१ मा प्रकाशित

झापा । पाँचौं वृहत अन्तर्राष्ट्रिय सृजनात्मक अनुष्ठान अमेरिकामा आयोजना हुने भएको छ।

अमेरिकाको हेरिस्वर्गमा उक्त अनुष्ठान हुने भएको हो। आगामी जुलाई २९ देखि ३१ सम्म कार्यक्रम हुने आइतबार आयोजित भर्चुअल पत्रकार सम्मेलनमा जानकार दिइएको हो।

खासगरि साहित्य क्षेत्रमा योगदान दिने अग्रज साहित्यकारको सम्मानका लागि अनुष्ठान आयोजना गरिएको जीबीएलओका पदाधिकारीले जानकारी दिएका छन्।

विश्वभर छरिएर रहेका नेपाली भाषी साहित्यकारका लागि साझा मञ्चका रुपमा उक्त कार्यक्रमलाई विकास गर्ने उद्देश्यले अनुष्ठान आयोजना गरिएको जीबीएलओका संस्थापक अध्यक्ष डेन्जोम साम्पाङले जानकारी दिनुभयो।

कार्यक्रममा विभिन्न पुस्तकहरू बिमोचन लगायत अन्य कार्यपत्रहरू बहस पैरवी हुने जनाइएको छ।

३ दिन हुने उक्त कार्यक्रमा विभिन्न साहित्यिक तथा साँस्कृतिक साँझ एवम् स्रष्टा भ्रमण लगायतका अन्य विविध कार्यक्रमहरू राखिएको जीबीएलओका कार्यकारी अध्यक्ष कर्ण गुरुङले जानकारी दिनुभयो ।

साहित्यकार लिलबहादुर क्षेत्रीलाई प्रथम पटक लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गर्न लागिएको गुरुङले बताउनु भयो ।

कार्यक्रममा प्राडा गोविन्दराज भट्टराई, सिक्किमका पूर्वमुख्यमन्त्री पवन चाम्लिङ, साहित्यकार मुक्ति बराल लगायतको सहभागिता रहने जीबीएलओका महासचिव पातलो अन्तरेले जानकारी दिनुभयो।

नेपाल, भारत, क्यानाडा, अष्ट्रेलिया, न्युजिल्याण्ड लगायतका १० भन्दा बढी देशहरूबाट कार्यक्रममा सहभागिता रहने जीबीएलओका कार्यक्रम प्रचार संयोजक अर्जुन प्रधानले बताउनु भयो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here