इलाम, फागुन २० । नेपाल सुपर लिग (एनएसएल) को नयाँ टिम ‘स्पोर्टिङ इलाम डी मेची’ले मार्की खेलाडी र मुख्य प्रशिक्षकमा मेघराज केसीलाई नियुक्त गरेको छ। मार्की खेलाडीको रुपमा राष्ट्रिय टोलीका सदस्य तेज तामाङलाई अनुबन्ध गरेको क्लबका मालिक सुहाङ नेम्बाङले जानकारी दिए।
पहिलो संस्करणमा केसी एफसी चितवनको मुख्य प्रशिक्षक रहेका थिए। हालै सकिएको ए डिभिजन लिगमा मेघराजले सातदोबाटो युथ क्लब सम्हालेका थिए। उनकै नेतृत्वमा नवप्रवेशी क्लब सातदोबाटोले उत्कृष्ट नतिजा निकाल्ने क्रममा सहिद स्मारक ए डिभिजन लिगमा चौंथो स्थान हात पारेको थियो।
यस्तै‚ तेजले च्याम्पियन टोली काठमाडौं रेजर्सबाट खेलेका थिए। उनी नेपाल पुलिस क्लबबाट व्यवसायिक फुटबल खेल्छन्।एनएसएलको दोस्रो संस्करण चैत २६ देखि जेठ ७ गतेसम्म आयोजना हुनेछ। दोस्रो संस्करणको प्रतियोगिता दुई शहरमा आयोजना हुनेछ। प्रतियोगिताका खेलहरू पोखरा र काठमाडौंमा हुनेछ। पहिलो संस्करण दशरथ रंगशालामा आयोजना भएको थियो। पहिलो संस्करणमा सात टोलीले सहभागिता जनाएका थिए।





