एमालेको खनाल-नेपाल समूहका नेताहरुले अध्यक्ष ओलीलाई स्पष्टीकरण नबुझाउने


१० जेष्ठ २०७८, सोमबार १०:०० मा प्रकाशित

काठमाण्डौ ।  नेकपा एमालेको खनाल-नेपाल समूहका नेताहरुले अध्यक्ष केपी शर्मा ओलीलाई स्पष्टीकरण नबुझाउने भएका छन् । एमालेले खनाल-नेपाल समूहका नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावललगायतलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन अस्ति पत्र पठाएको थियो ।

पार्टीको नवौं महाधिवेशनपछिको संरचना भत्काएर अवैध संरचना निर्माण गरेर स्वयम् आफू नै अवैध भइसकेको व्यक्तिलाई आफूहरुले स्पष्टीकरण बुझाइरहन आवश्यक नरहेको खनाल-नेपाल समूहका नेता भीम रावलले टिप्पणी गर्नुभयो ।आफूहरुले पार्टी एकताका लागि अन्तिम प्रयास गर्दासमेत पार्टीको हित विपरीत गतिविधि बन्द नभएकोले केपी शर्मा ओलीलाई वैध अध्यक्ष मान्न नसकिने र ओलीले नै सबैसामु स्पष्टीकरण दिनुपर्ने उहाँको टिप्पणी छ ।

एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले विभिन्न तीन वटा प्रश्नसहित २४ घण्टाभित्र स्पष्टीकरण उपलब्ध गराउन खनाल-नेपाल समूहका ११ प्रतिनिधि सभा सांसदलाई अस्ति पत्र पठाउनुभएको थियो ।स्पष्टीकरणमा गएको वैशाख २७ गते प्रतिनिधि सभा बैठकमा अनुपस्थित हुनुपर्ने कारण, राष्ट्रियसभा चुनावमा सूर्य चिह्न लिएर पार्टीबाट उठेका रामबहादुर थापा बादललाई मतदान नगर्नुका कारण, र जेठ ७ गते नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्नुका कारणबारे प्रश्न सोधिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here