ज्यान गुमाउनेको संख्या ५ पुग्यो: कोरोनाका कारण ललितपुरमा ५७ वर्षीय पुरुषको मृत्यु


१४ जेष्ठ २०७७, बुधबार २२:२७ मा प्रकाशित

काठमाडौँ । कोरोना भाइरस संक्रमणबाट ललितपुरमा एकजना वृद्धले ज्यान गुमाएका छन्। किस्ट अस्पतालमा उपचाररत ललितपुर महानगरपालिका वडा नम्बर-२२, बुङ्‌मती निवासी ती बिरामीको कोरोना संक्रमणबाट मृत्यु भएको हो।

किस्ट अस्पतालमा उपचाररत ती पुरुषको निधनसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच पुगेको छ। महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख टेकबहादुर राईका अनुसार ५७ वर्षीय ती पुरुषको बुधबार साँझ ज्यान गएको हो। एसएसपी राईका अनुसार ती पुरुष कलेजोका बिरामी पनि थिए। उनलाई गत जेठ १२ गते उक्त अस्पतालमा भर्ना गरेर उपचार भइरहेको थियो।

जेठ ११ सम्म उनी पाटन अस्पतालमा थिए। तर गम्भीर बिरामीका कारण आइसियुमा राख्‍न किस्ट पठाइएको थियो। कलेजोको उपचारका लागि ग्वार्कोस्थित किस्ट अस्पताल भर्ना भएपछि उनको स्वाब लिइएको थियो। अस्पतालले स्वाब लिएर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु लगेको थियो।

ती व्यक्तिको ज्यान गइसकेपछि उनमा कोरोना संक्रमण भएको रिपोर्ट राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट आएको थियो। जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा.खगेश्‍वर गेलालले पनि ती पुरुषमा ज्यान गएपछि कोरोना संक्रमण पुष्टि भएको बताए। नेपालमा कोरोनाबाट ज्यान जानेको संख्या ५ पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here