कोरोना परीक्षणका लागि स्थानीय तहमा विशेष टोली परिचालन गरिँदै


१२ बैशाख २०७७, शुक्रबार १९:१५ मा प्रकाशित

काठमाडौं । कोरोनाभाइरस (कोभिड–१९) परीक्षणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गाउँपालिकादेखि महानगरपालिकासम्म विशेष टोली परिचालन गर्ने भएको छ ।

मन्त्रालयले गर्दै आइरहेको नियमित ‘प्रेस ब्रिफिङ’मा शुक्रबार मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले मन्त्रालयले हरेक गाउँपालिकामा एक, नगरपालिकामा दुई, उपमहानगरपालिकामा तीन र महानगरपालिकामा पाँच टोली परिचालन गर्ने तयारी गरेको जानकारी दिए ।

उक्त टोलीमा जनस्वास्थ्य अधिकृत, प्रयोशालाका कर्मचारी र नर्ससहित तीनजना रहने छन् । प्रवक्ता डा. देवकोटाले स्वास्थ्यकर्मीको टोलीले कोरोना संक्रमणको नियन्त्रण तथा रोकथाम, परीक्षण र ‘ट्रेसिङ’मा सहयोग र सहजीकरणको काम गर्ने जानकारी दिए । डा. देवकोटाले देशभर अहिलेसम्म ‘आरडीटी’ र ‘पीसीआर’ प्रविधिमार्फत् ४७ हजार ४९६ जनाको परीक्षण गरिएको जानकारी दिए ।

उनले बिहीबार संक्रमण पुष्टि भएको भोजपुरका २६ वर्षीय पुरुषको सम्पर्कमा आएका उदयपुरका आफन्तको स्वाब संकलन गरी परीक्षणको लागि पठाइएको जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here