भिडियो कन्फरेन्सबाट थुनुवाको म्याद थप


१२ बैशाख २०७७, शुक्रबार १०:२८ मा प्रकाशित

दाङ । देउखुरी जिल्ला अदालतले बिहीबारदेखि भिडियो कन्फरेन्सका माध्यमबाट थुनुवाको म्याद थप शुरु गरेको छ ।

डिभिजन वन कार्यालय दाङले वन्यजन्तुको अवैध चोरीशिकार काममा पक्राउ गरी म्याद थपका लागि अदालतमा पेश गरिएका चार जनाको भिडिओ कन्फरेन्सबाट म्याद थप गरेको अदालतका श्रेस्तेदार धनसिंह गिरीले जानकारी दिए ।

वन कार्यालयको थुनुवा कक्षमा रहेका आरोपितसँग न्यायाधीश भीमलाल बेल्बासेले पालैपालो भिडियोमा घटनाको विषयमा सोधपुछ गरी सात दिनको म्याद थप गरेको पनि श्रेष्तेदार गिरीले जानकारी दिए । उनका अनुसार अदालतले आवश्यकता अनुसार यही विधिबाट पुनः म्याद थप गर्न सक्ने छ ।

वन पैदावार चोरी तस्करीमा संलग्न रहेकाहरुलाई पटकपटक गरी बढीमा २५ दिन र वन्यजन्तु अपराधमा संलग्न भएकाहरुलाई पटकपटक गरी बढीमा ४५ दिनसम्म म्याद थप गरी अनुसन्धान गर्न सकिने कानूनी व्यवस्था छ ।

यसअघि लकडाउनका समयमा अनुसन्धानका लागि थुनामा रहेका व्यक्तिलाई म्याद थपका लागि अदालतमा पेश गर्दा कोरोना भाइरस परीक्षणको रिपोर्ट माग गरिएको थियो ।

वन कार्यालयले लकडाउनका अवधिमा १३ घटनामा १४ जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको जनाएको छ । सो अवधिमा चारचार ट्राक्टर र मोटरसाइकल, दुई थान बन्दूक, गोलीबारुद, गुलेली र मटे्ङ्ग्रा बरामद गरिएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here