सिमा विवाद समाधानका लागि प्रधानमन्त्रीस्तरबाट भारतसँग वार्ता गर्न सरकारलाई नेता पौडेलको सुझाव


२८ कार्तिक २०७६, बिहीबार १६:४० मा प्रकाशित

झापा । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल सरकारले सिमा विवाद देखिएको ठाउँको दशी प्रमाण सुरक्षित गरेर समाधानका लागि प्रधानमन्त्रीस्तरबाट भारतसँग वार्ता गर्न सरकारलाई सुझाव दिएका छन् ।

नेपाल प्रेस युनियन झापाको आयोजनामा विर्तामोडमा आज सम्पन्न पत्रकार भेटघाटमा बोल्दै नेता पौडेलले वार्ताबाट समाधान नभए दोस्रो चरणमा मात्रै सिमा विवादको मुद्धालाई अन्तर्राष्ट्रियकरण गर्न सुझाव दिएका हुन् । ‘छिमेकीको हेपाहा प्रवृत्ति र सीमा सुरक्षामा नेपालको लापरबाहीका कारण सिमा सुरक्षामा प्रश्न उठेको छ’–नेता पौडेलले भने–‘अहिले दुइतिहाईको बलियो सरकार छ, कसैले ढाल्छ कि भनेर डराउनुपर्ने अवस्था छैन, यो सरकारले लिपुलेक, लिम्पियाधुरा, कालापानीसहित सीमा विवाद देखिएका अन्य क्षेत्रमा नेपालको भूभागजतिका दशीप्रमाण फेला पारेर सरकार कडा रुपमा प्रस्तुत होस् ।’ हिजो राष्ट्रवादको नारा लगाएर सत्तामा पुगेका प्रधानमन्त्री के.पी. ओलीले देश र जनतालाई धोका नदिई राष्ट्रिय छवी प्रस्तुत गर्न आग्रह गरे ।

सीमा विवाद टुङ्ग्याउन सरकार अघि बढे त्यसमा सहयोग गर्न प्रतिपक्षी दल कांग्रेस तयार रहेको बताउँदै उनले सचिवस्तरको बैठकबाट सीमा विवाद नटुङ्गिने उनको भनाई थियो । दुईतिहाई बहुमतको सरकार हुँदा पनि नेपालको विकास र दीर्घकालीन योजनाका लागि लगानी नभित्रिएको बताउँदै उनले समृद्धिको लक्ष पूरा नहुने नेता पौडेलले बताए । ‘सरकार पुरानै योजनाको शिलान्यास र उद्घाटनमा अल्मलिएको छ’–नेता पौडेलले प्रश्न गरे –‘यसले कसरी समृद्धिको यात्रा पूरा हुन्छ ?’ नेपालमा आर्य मंगोल र आग्नेय परिवारका समुदायको समिश्रित संस्कृति रहेको बताउँदै उनले कांग्रेस सबैको संरक्षणको पक्षमा रहेको बताए । नेपाली कांग्रेस झापाका सभापति उद्वव थापाले राष्ट्रिय अखण्डता जोगाउने सवालमा सबै एकजुट भएर उभिन आग्रह गर्दै सीमाविवादका विषयमा राज्यको धारणा नआउनु दुःखद भएको बताए ।

नेपाल प्रेस युनियन झापाका अध्यक्ष इन्दु पूर्वेलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत कृष्ण हुमागाईंले गरेका थिए । कार्यक्रममा नेपाली कांग्रेस झापाका उपसभापति राम कट्टेल, कोषाध्यक्ष केशवराज पाण्डे, प्रवक्ता लोकराज ढकाल, नेपाल महिला संघ झापा अध्यक्ष सुशिला ढकाल, नेपाल ट्रेड युनियनका केन्द्रीय सदस्य उर्मिला पोखरेल लगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here