भोजपुरमा जड्याँहाले गरे सात बाख्राको निर्मम हत्या


२७ कार्तिक २०७६, बुधबार १९:३७ मा प्रकाशित

भोजपुर । भोजपुर अरूण गाउँपालिका वडा नं ६ जरायोटारका रणबहादुर विश्वकर्मा, बाबुराम विश्वकर्मा र भरत विश्वकर्मा सोमबार साँझ आफ्ना पशु चौपाया राम्ररी बाँधेर सुतेका थिए ।

मंगलबार बिहान उठ्दा भने उनीहरूका खोरमा बाख्रा त थिए ती ज्युँदा थिएनन् । यी तीन किसानका सात वटा बाख्रा भुइँमा लडेका थिए । उनीहरूको शरीर एकातिर टाउको अर्कैतिर थियो । कसैले राति आएर उनीहरूका बाख्रालाई खुकुरी हानेको रैछ । बाख्रालाई खुकुरी हान्नेले मान्छेलाई के गर्ला भनेर उनीहरूलाई डर लाग्यो । गाउँले बोलाए । प्रहरी डाके । मंगलबार उनीहरूका बाख्रा कसले मार्‍यो भन्ने पत्ता लागेन । प्रहरीले बाख्रा मार्ने को हुन् भनेर अनुसन्धान सुरू गर्‍यो ।

जिल्ला प्रहरीका कार्यालयका प्रहरी उपनिरीक्षक सन्तोष निरौलाको टोलीले बुधबार बाख्रा मारेको आरोपमा दुई जनालाई पक्राउ गर्‍यो। पक्राउ पर्नेहरूमा उनीहरूका छिमेकी धनबहादुर र अर्जुन विश्वकर्मा थिए । ‘हामी राति जाँड खाएर आएका थियौं । त्यहीबेला बाख्रालाई खुँडा, दाउ र खुकुरी हानेका हौं भन्ने बयान दिएका छन्,’ निरौलाले भने,‘उनीहरूको कुनै दुस्मनी रहेको भने देखिएन ।’ पक्राउ परेका दुबै जनालाई आजै जिल्ला प्रहरी कार्यालय लगिने निरौलाले जानकारी दिए । उनीहरूलाई चौपाया कसुरमा मुद्दा चलाइने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here