काठमाडौं । वुमेन्स च्याम्पियन्स लिग (डब्लुसिएल) टी–२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि क्याट क्विन काठमाडौं र चितवन राइनोजबीच प्रतिस्पर्धा हुने भएको छ ।
काठमाडौंले सोमबार भएको एलिमिनेटरमा विराटनगर टाइटन्सलाई ९ विकेटले हराएर चितवनसँग उपाधि भिडन्त पक्का गरेको हो । चितवन भने समूहका सबै खेल जितेर सिधैं फाइनलमा पुगेको थियो । टस जितर पहिले ब्याटिङ गरेको विराटनगर १७.३ ओभरमा ६८ रनमै अलआउट भयो ।
सात ओभरमा ४४ रन बनाउदा पहिलो विकेट गुमाएको विराटनगरले बाँकी २४ रन बनाउँदा ९ विकेट गुमायो । विराटनगरका लागि सोनु खड्काले २५ बलमा ६ चौका प्रहार गरेर ३४ रन र ज्योती पाण्डेले १२ रनको योगदान दिए। अन्यले दोहोरो अंकमा रन बटुल्न सकेनन् । विराटनगरको इनिङ ध्वस्त पार्न काठमाडौंकी कप्तान रुबिना क्षेत्री बेलबासेले ४ विकेट लिइन् ।
६९ रनको लक्ष्य काठमाडौंले ९.५ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्यो । रोमा थापा पहिलो बलमा आउट भए पनि कप्तान रुबिनाले नटआउट ३४ रन र अप्सरी बेगमले नटआउट २७ रन जोडे । रुबिनाले ३० बलमा ६ चौका र बेगमले २८ बलमा ३ चौका प्रहार गरिन् । उपाधिका लागि बिहीबार प्रतिस्पर्धा हुनेछ ।





