काठमाडौं । भारतले दक्षिण अफ्रिकाविरुद्धको तीन खेलको टेस्ट सिरिज क्लिनस्विप गरेको छ ।
भारतले तेस्रो टेस्टमा दक्षिण अफ्रिकालाई इनिङ्ग्स र २०२ रनले पराजित गर्दै सिरिज ३–० ले जितेको हो । राँचीमा भएको तेस्रो टेस्टमा फलोअनमा परेको दक्षिण अफ्रिका मंगलबार दोस्रो इनिङमा १३३ रनमै अलआउट भयो । अघिल्लो दिन ८ विकेट गुमाएको दक्षिण अफ्रिकाको अन्तिम २ विकेट भारतका साहबाज नदीमले लिए । मंगलबारको खेल केवल २ ओभरमा मात्र चल्यो । दोस्रो इनिङमा दक्षिण अफ्रिकाका लागि जर्ज लिन्डले सबैभन्दा बढी २७ रन जोडे । बलिङमा भारतका मोहमद सामीले ३ विकेट लिँदा उमेश यादव र नदीमले २–२ विकेट लिए ।
पहिलो इनिङमा दक्षिण अफ्रिका १ सय ६२ रनमै अलआउट हुँद फलोअनमा परेको थियो । दक्षिण अफ्रिकाका लागि पहिलो इनिङमा जुबायर हम्जाले सबैभन्दा बढी ६२ रन जोड्दा बलिङमा भारतका उमेश यादवले ३ विकेट लिए । मोहमद सामी, नदीम र जडेजाको नाममा २–२ विकेट रह्यो । पहिलो इनिङमा भारतले ९ विकेटको क्षतिमा ४ सय ९७ रन बनाएर इनिङ समाप्तीको घोषणा गरेको थियो । भारतका लागि ओपनिङ ब्याट्सम्यान रोहित शर्माले दोहोरो शतक हिर्काए । रोहितले २ सय १२ रनको योगदान दिए । उनले २ सय ५५ बलमा २८ चौका र ६ छक्का हिर्काए । अजिन्का राहाणेले १ सय १५ रनको योगदान दिए । उनले १ सय ९२ बलमा १७ चौका र १ छक्का हिर्काए।रवीन्द्र जडेजाले ५१ रनको योगदान दिए ।
बलिङमा दक्षिण अफ्रिकाका जर्ज लिन्डले ४ विकेट र कागिसो रबाडाले ३ विकेट लिए । जारी टेस्ट च्याम्पियनसिपमा भारतको यो लगातार पाँचौ खेलमा जित हो । शीर्ष स्थानमा रहेको भारतले २४० अंक जोडिसकेको छ । २ खेलमा १ जित हात पारेको न्युजिल्यान्ड ६० अंक जोडेर दोस्रो स्थानमा छ ।





